२०८१ पौष १६, मङ्गलवार , ११:४१:१९ बजे

Sajhamanch
'

प्रकृतिमैत्री विकास निर्माण गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

आइतवार, पौष १४, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन आइतबार शिलान्यास गर्दै उनले प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए।

‘विकास निर्माणको काम त गर्नुपर्छ तर विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ। अब त्यहीअनुसार विकास निर्माणको काम गर्नुपर्छ,; उनले भने, ‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ। गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ।’

उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका थिए।

उनले पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको भन्दै ४० वर्ष अगाडि गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण पनि गरे।

४० वर्ष अगाडि र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनले बताए।

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागेको बताए।

संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।

उपप्रधानमन्त्री सिंहले शिलान्यास गरेको प्रशासकीय भवन पालिकाको आन्तरिक स्रोतबाट दुई वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए।

सम्बन्धित खबर