मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
आज धुलाबारीस्थित शान्ति समाजको सभाहलमा रण–खड्ग खवास फाउन्डेसनको दोस्रो वार्षिक उत्सव, सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीको प्रमुख आतिथ्यमा आयोजित वार्षिक उत्सवमा उत्कृष्ट कृषक, कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसतासीकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मान मेचीनगरका फरक क्षमता भएका राम बुढाथोकी र प्रोत्हसान पुरस्कारबाट धुलाबारी कक्षा–१० की दिव्या रायालाई नगद राशिसहित सम्मान गरेका हुन् ।सम्मानित कुँवर, चौधरी र बुढाथोकीलाई जनही नगद १५ हजार रुपैयाँ र रायालाई नगद ५ हजार प्रदान गरिएको छ ।
कृषि अभियन्ता कुँवरले विभिन्न ठाउँमा गएर कृषिका विषयमा किसानहरुलाई प्रशिक्षण दिने गर्छन् । महिला उद्यमी चौधरी दुधेमा मौरी पालन गरेर जीवीकोपार्जन गर्छिन् ।
फरक क्षमताका बुढाथोकी लागूऔषध र समाजका विकृति विसंगति विरुद्ध सामाजिक सेवामा सक्रिय रहेका छन् ।बुढाथोकी अपाङ्गता भए पनि धुलाबारीको प्रगतिशील युवा क्लबका अध्यक्ष हुन् ।
यसैगरी प्रोत्हसान पुरस्कारबाट सम्मानित कक्षा–१० की राया विभिन्न विद्यालयमा हुने हाजिरिजवाफ प्रतियोगितामा उत्कृष्ट हुने एक इमानदार एवम् मेधावी विद्यार्थी हुन् ।
सम्मानितहरुको प्रशंसापत्र बाचन फाउन्डेशनका सदस्य शुशिला खवासले गरेकी थिइन् ।
सोही अवसरमा फाउन्डेसनका अध्यक्ष, साहित्यकार एवम् कम्युनिष्ट नेता भीम खवासको ‘सोनसरी भोकै निदाई’ कथा संग्रहको लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार धरावासीले उक्त पुस्तकको लाकार्पण गरेका हुन् ।
साहित्यकार खवासको १२० पृष्टको कथासंग्रह पुस्तकको टिप्पणी साहित्यकार चूडामणि वशिष्ठले गरेका थिए ।
खवासको यसअघिका कृतिहरु नविर्सेका दिनहरु, फुटकर लेख, कविताहरु प्रकाशित भइसकेको छ ।
कार्यक्रममा प्रमुख अतिथि धरावासी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ शुभद्रा भट्टराई, साहित्यकार विष्णुकुमार भट्टराई, सम्मानित व्यक्तित्व कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रण–खड्ग खवास फाउन्डेसनका अध्यक्ष भीम खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य एवम् संविधान सभा सदस्य अम्बिका खवास, कार्यक्रमको औचित्य माथि प्रकाश सदस्य शीला खवासले र सञ्चालन सञ्चारकर्मी एवम् लेखक सन्तोष आचार्यले गरेका थिए ।