काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
शनिवार त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि बढाउनुपर्ने र आदरणीय, प्राचीन थलोको रूपमा विकास गर्नुपर्ने बताए।
उनले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए। उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयमा कमी, कमजोरीलाई सुधार गर्दै जाने बताए।
ओलीले भने‚ ‘त्रिभुवन विश्वविद्यालयमा कमी, कमजोरी होलान्, कमी भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ। हामीले शिक्षाको मन्दिरको रूपमा विश्वविद्यालयलाई आदरणीय, प्राचीन थलोको भाव हुनुपर्छ।’प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताए। नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने बताए।