मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पुस १ गते वडा नम्बर १ बाट सुरु भएको उक्त कार्यक्रम शुत्रबार १२ नम्बर वडामा सम्पन्न भएको हो । वडा नम्बर १२ मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका ९७ जना व्यक्तिहरु रहेका छन् ।
अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १२ का वडाध्यक्ष मधु निरौलाले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् । वडा नं. १२ सम्मको शिविर सम्पन्न हुँदा एक हजार ७०० जनाले सो सेवा लिइसकेको जनाइएको छ ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।