दुबई । रोजगारीको शिलशिला युएईमा कार्यरत झापालीहरुको साझा संस्था झापाली समाज युएईले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आगामी डिसेम्बर २९ आइतबार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
दुबईको बरदुबाईस्थित याक एन्ड यति एभरेष्ट क्लबको हलमा सम्पन्न हुने उक्त कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमाल अतिथि कलाकारका रूपमा प्रस्तुत हुने आयोजकले जनाएको छ ।
उक्त सांस्कृतिक कार्यक्रममा कलाकारहरू टिका दाहाल, प्रशान्त ताजपुरिया, जनक रुचाल, कान्छी योन्जन, कमल तामाङ, बिन्दू आचार्य, रमेश कडरिया लगायतले प्रस्तुती दिने कार्यक्रमका व्यवस्थापन प्रमुख रामकुमार राउतले बताएका छन् ।
झापाली समाज युएई २०१५ मा स्थापना भई युएईका ७ वटै इमिरेट्समा सक्रिय रहेको छ। यो संस्था नेपालमा समेत नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भई सम्पर्क कार्यालय स्थापना गरी सामाजिक कार्य गर्दै आएको छ ।
युएईबाट फर्किएका झापाबसीहरूले सो संस्थाको नेपाल टिमको नेतृत्व गर्दै आएका छन्। यसको कार्यालय झापाको सुरूङ्गामा अवस्थित छ।
संस्थाले विभिन्न कार्यक्रमहरू मार्फत संकलित रकमले युएईमा अफ्ट्यारोमा परेका नेपालीहरूको उपचार र स्वदेश फिर्तीमा सहयोग गर्दै आएको छ ।
प्रत्येक वर्ष संस्थाले स्थापना गरेको अक्षयकोषबाट प्राप्त व्याजबाट झापाका १५ वटै स्थानीय तहका अनाथ, असहाय र गरिब बालबालिकाहरूको अध्ययनका लागि पाठ्यसामग्री, पोशाक र विद्यालय वा कलेज शुल्क प्रदान गर्दै आएको छ ।
झापाली समाज युएईले आगामी सांस्कृतिक कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन सम्पूर्ण झापाली एवं शुभचिन्तकहरूको सहयोग र उपस्थितिको लागि अपिल पनि गरेको छ ।