२०८१ पौष १३, शनिवार , ०८:३८:४७ बजे

Sajhamanch
'

होटल ‘अश्वत्थ’ जनवरीदेखि सञ्चालन हुने

शुक्रवार, पौष १२, २०८१

मेचीनगर । पर्यटन प्रवर्धनको विकास एवम् व्यवसायिक रुपमा फड्को मार्दै गरेको मेचीनगरमा अर्को क्यासिनोसहितको पाँच तारे होटल सञ्चालनमा ल्याउन लागिएको छ ।

मेचीनगर–७ ईंटाभट्टामा क्यासिनोसहितको ‘अश्वत्थ’ नामकरण गरिएको होटल सञ्चालनमा आउने भएको हो । ‘अश्वत्थ’ होटलका सञ्चालक प्रज्वल घिमिरेले नयाँवर्ष सन् २०२५ जनवरीको पहिलो सातादेखि होटल सञ्चालन हुने जानकारी दिएका हुन् ।

१३० करोड लगानीमा जनवरीदेखि सञ्चालन हुन लागेको फाइव स्टार होटलमा ८४ वटा आकर्षक डीलक्स र स्वीट रुमहरु रहेको उनले बताए । होटलको रुमचार्ज प्रतिदिन १५ हजारदेखि २५ हजार रुपैयाँसम्मका रहेका छन् ।

उनका अनुसार २ विगाहा क्षेत्रफलमा रहेको होटलमा क्यासिनो, स्वमीङ पुल, जाकुजी, स्पार्क, दुईवटा व्याङ्केट हल, योग शिविर, व्यायामशाला, खेल सामग्री लगायत सुविधाहरु रहने छन् ।

विदेशी पर्यटकहरुलाई नेपालका आकर्षक मठमन्दिर र पर्यटन क्षेत्र घुम्नका लागि माउन्टेन फ्लाइटको प्याकेजसमेत गरिने सञ्चालक घिमिरेले बताए ।

पर्यटनको हव बन्दै गइरहेको मेचीनगरमा पछिल्लो समय विदेशी पाहुनाहरुको भिड बढ्दै गएको छ ।

पूर्वको नाका काँकरभिट्टाको एशियन हाइवे सीमाबाट ३० किलोमिटरमा भारतको बागडुग्रा एयरपोर्ट तथा २१ किलोमिटरमा भद्रपुर एयरपोर्टका कारण विदेशी पर्यटकहरुलाई नेपाल आउन जान सहज भएको छ ।

मेचीनगरमा नै चार वर्षअघि सञ्चालनमा आएको होटल मेची क्राउन पूर्वको पर्यटन विकासमा कोसेढुंगा सावित भएको छ ।

यसैगरी, झापाको बिर्तामोडमा क्यासिनोसहितको पाँचतारे किङ्गसवेरी होटल, मेचीनगरको काँकरभिट्टामा २ वटा मिनी क्यासिनो र क्यासिनासहितको मेची क्राउन सञ्चालनमा छ ।

यी क्यासिनोहरुमा धेरै जसो छिमेकी मुलुक भारतका पर्यटकहरु आउने गर्छन् । भुटान र बंगलादेशबाट पनि क्यासिनोमा खेल्न र घुम्न आउने गरेका जनाइएको छ ।

होटल सञ्चालक घिमिरेले डेस्टिनेशन म्यारिज (टाडा गएर विवाह गर्ने) प्रचलनका कारण पाँचतारे होटलको व्यवसाय फस्टाएको दावी गरे ।

उनका अनुसार भारतका धनाढ्यहरु प्रायः नेपालका ठूला–ठूला होटल बुक गरेर यतै विवाह र पार्टी गर्ने चलन बढेको छ ।

‘भारतका करोडपतिहरुले आफ्ना छोरा–छोरीहरुको विवाह घर र पार्टी प्यालेसमा नगरेर नेपालका पाँचतारे होटल बुक गर्छन्’, घिमिरेले भने ‘टाढा लगेर विहे गर्दा र पार्टी दिँदा बेहुला बेहुली, जन्ती तथा आफन्त सबै ल्याउने होटलमा नै भोज गर्ने चलन बढेको छ । यसो गर्दा नेपालका होटलहरुको व्यवसाय फस्टाउँने गरेको छ ।’

सम्बन्धित खबर