कमल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एउटा विद्यालयका विपन्न १०० जना विद्यार्थीलाई स्कूल ब्याग प्रदान गरेको छ ।
कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको हो । सिम्रिक साकोसको टिम बिहीबार विद्यालयमा नै पुगेर स्कूल ब्याग वितरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे ।
विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १०० थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताए ।
संस्थाको सामुदायिक उत्तरदायित्व अन्तरर्गतको वर्षिक कार्यक्रम अन्तरगत विद्यार्थीलाई सहयोग गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका विपन्न १० हजारभन्दा बढी विद्यार्थीहरुलाई हरेक वर्ष शैक्षिक सामाग्री वितरण गर्ने गरिएको बताउँदै यस्तो कार्यलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मिनादेवी लावतीले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखिन् । सिम्रिक साकोसले गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहज हुने उनले बताइन ।
वि. सं. २०२४ सालमा स्थापना भएको अरनिको विद्यालयमा अधिकांश मजदुरी गरेर जिविका चलाउने परिवारका बालबालिका अध्ययनरत छन् ।
सिम्रिक साकोसले स्थापनाकालदेखि नै समाज र समुदायको हित र उन्नतीमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्यासञ्चालक ब्सन दमक नगर समितिका अध्यक्ष तथा सिम्रिक साकोसका सदस्य नबीन योगीले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कप्रसाद काफ्ले, पूर्व विद्यार्थी अनु ताजपुरिया, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।