झापा । धनकुटा, संखुवासभा र ओखलढुङ्गामा लडेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
हिजो बिहान ११ः४५ बजे धनकुटा नगरपालिका-७ बसपार्कमा अन्दाजी ७० वर्षीय महेन्द्र कटुवाल आफ्नै घरको शौचालयमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उनका छोराले देखेर उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा चिकित्सकले ११ः५५ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै हिजो दिउँसो ३ः४० बजे संखुवासभा पाँचखपन नगरपालिका-४ फापुङ बस्ने कविराज दर्जीकी अन्दाजी २३ वर्षीया छोरी रमला दर्जी पानी लिन जाने क्रममा साउने खोल्सीको कुवामा लडेर मृत अवस्थामा फेला परेकी थिइन् ।
त्यस्तै गएराति ८ः१० बजे ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मा निर्माण भइरहेको पाँच बेडको अस्पताल भवनमा काम गर्ने क्रममा इटहरी-१४ बस्ने २५ वर्षीय अनिल चौधरी लडेर घाइते भएका छन् ।
डोकोमा इँटा बोक्ने क्रममा लडेर घाइते भएका चौधरीलाई जनसेवा हेल्थ केयर घुर्मीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ ।