२०८१ माघ १३, आइतवार , १२:५८:५६ बजे

Sajhamanch
'

वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।

दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

‘सञ्चालनमा रहेका दुईवटा ट्वीनअटरमध्ये एउटै यसअघि नै ग्राउन्डेड अवस्थामा रहेको र अर्को जहाजको पनि इन्जिनको उडान आवर सकिएका कारण आन्तरिक उडान अस्तिबाट बन्द भएको छ,’ पौडेलले  जानकारी दिए ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी उनले गरे ।

‘त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता थियो । तर, त्यसको म्याद सकिए पनि डेलिभरी दिएको छैन,’ उनले भने ।

आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनले बताए ।

नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने छन् ।

सम्बन्धित खबर