२०८१ पौष २८, आइतवार , ०४:१७:१८ बजे

Sajhamanch
'

‘अब सहकारी संस्थाहरुले शेयरमा लाभांश दिने ‘माइन्ड चेन्ज’ गर्नुपर्छ : महेन्द्रकुमार गिरी

सोमवार, पौष ८, २०८१

झापा । बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय कारोबार अंक गत असार मसान्तमा ८६ करोड २४ लाख २६ हजारमात्रै भए पनि यसका कामहरुले मुलुकमा नाम चलेका सहकारी संस्थाहरुको सूचिमा पारेको छ ।

झापामा नै सहकारीको अर्ब क्लवमा पुगेका १२ वटा संस्थाहरु छन् । १६ अर्बको सहारा नेपाल साकोस, १२ अर्बको एनएमसीसहित अर्बको कारोबार गर्ने दर्जन संस्थाहरु रहेको झापामा ८६ करोड मात्रको वासलात बनाएको सतासी पनि उत्कृष्ट सहकारीको सूचिमा कायम रहनु यसको सफलता हो ।

वित्तीय कारोबारको हिसाबले भन्दा पनि संस्था सञ्चालनमा व्यवसायिकता र पारदर्शिता एवम् यसले सञ्चालन गरेका विभिन्न परियोजनाहरुलाई मूल्याङ्कन गरेर सहकारीमा उत्कृष्टता मापन गरिएको हो । सोहीअनुसार सतासीले मुलुकमै उत्कृष्ट तवरले सहकारी पसल सञ्चालन गरेर नमूना बन्न सकेको हो । सो कुरा सोमबार बिर्तामोडमा आयोजित संस्थाको २१औैं वार्षिक साधारण सभाका वक्ताहरुले पनि बताए ।

राष्ट्रिय सहकारी बैंकका नवनियुक्त अध्यक्ष, साधारणसभाका प्रमुख अतिथि महेन्द्रकुमार गिरीले सतासीका अध्यक्ष रुद्रमणि श्रेष्ठहरुले देख्नुभएको सपना २१ वर्षपछि पूरा हुँदै गरेको बताए । सतासी सहकारीको वासलात एक अर्बको पनि छैन तर ‘ब्राण्ड भ्यालु’ १० अर्ब भन्दा बढीको भइसकेको छ भन्दै सहारा नेपाल साकोस लिमिटेडका कार्यकारी प्रमुखसमेत रहेका गिरीले सतासीले बचत तथा ऋणको कारोबारलाई न्यूनीकरण गरेर सहकारी पसललाई नै बढावा दिने रणनीति विकास गर्न सुझाव दिए । सतासी ब्राण्डको सहकारी पसल संस्थाको कार्यक्षेत्रका गाउँगाउँसम्म कसरी पुर्याउने भन्ने सोचको विकास गर्न गिरीको सुझाव छ ।

आफ्नो मन्तब्यमा गिरीले सहकारी संस्थाहरुले अब लाभांश बाँड्न छोडेर सुविधा बृद्धि गर्नुपर्ने बताए । यतिउति लाभांश दिन्छु भनेर सहकारीहरुले शेयर हाल्न लगाउने काम अब गर्न नहुने उनको भनाई छ । ‘अब सहकारी संस्थाहरुले शेयरमा लाभांश दिने ‘माइन्ड चेन्ज’ गर्नुपर्छ र सदस्यहरुलाई सुविधा उपलब्ध गराएर संस्थाप्रति आकर्षित गर्न सक्नु पर्दछ’ गिरीले सुझाव दिए ।

साधारण सभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उनले चालू आर्थिक वर्षबाट सुरु गरिएको चार वर्षे रणनीतिक वित्तीय लक्ष्य प्रस्तुत गरेका छन् । जसमा बाह्य ऋण घटाउँदै लैजाने, शेयर पूँजी वृद्धि गर्ने, कोषहरुको रकम वृद्धि गर्ने, बचत तथा निक्षेप वृद्धि गर्ने लगायत रहेका छन् ।

सतासीले आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्ममा शेयर पूँजी ७ करोड २७ लाख ५७ हजार ४०० रुपैयाँ, साधारण जगेडा कोष ३ करोड १६ लाख ३९ हजार २३ रुपैयाँ, अन्य कोष ४ करोड २० लाख ९५ हजार २३४ रुपैयाँ पुर्याएको अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सतासीले निक्षेप बचतमा सदस्यहरुबाट ५४ करोड ५२ लाख ९१ हजार रुपैयाँ संकलन गरेको भने ५२ करोड ५५ लाख ५३ हजार रुपैयाँ सदस्यहरुमाझ ऋण लगानी गरेको तथा ४१ लाख ५८ हजार ८१९ रुपैयाँ गैर बैंकिङ सम्पत्ती अर्थात् शेयर लगानी गरेको उल्लेख छ ।

समीक्षा वर्षमा सतासी सहकारीले ऋण जोखिम कोष मजबुत बनाउनुपर्ने बाध्यताका कारण सदस्यहरुलाई शेयर लाभांस तथा संरक्षित पूँजी फिर्ता कोषबाट सुविधा प्रदान गर्न नसकिएको प्रतिवेदनमा जनाइएको छ ।

यसैगरी, साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्दै गरामनी र हल्दिबारीको पसल बन्द गर्न वा स्थानान्तरण गर्न सुझाव दिएका छन् । उनले दुईवटै पसलबाट नाफा नभएको भन्दै यस्तो सुझाव दिनुपरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तै, सहकारी पसलमा कर्मचारीहरु नियुक्ति गर्दा धरौटी राख्न तथा काम गरेको घण्टाका आधारमा पारिश्रमिक दिन मिल्ने गरी कर्मचारी व्यवस्थापन गर्न समेत सुझाव दिएका छन् ।

साधारणसभा समारोहमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय सहकारी बैंकका नवनियुक्त अध्यक्ष गिरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरिएको थियो । यस्तै सतासी बहुउद्देश्यीय सहकारीमा २०६२ सालदेखि विभिन्न तहमा रहेर निरन्तर सेवा गरी हालै स्वेच्छिक अवकास लिएका निवर्तमान प्रबन्धक सन्तोषकुमार श्रेष्ठलाई दोसल्ला ओडाएर कदरपत्र प्रदा नगरिएको थियो ।

संस्थाका प्रबन्धक झलेन्द्रप्रसाद दाहालले सञ्चालन गरेको सो साधारणसभा समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सहकारीका उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ झापाका सञ्चालक सदस्य केशव बस्नेत, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष ओमभक्त सेढाई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्योपाने, महिला उद्यमी संघ झापाका अध्यक्ष सुष्मा पौडेलले आ-आफ्ना राखेका थिए ।

सम्बन्धित खबर