२०८१ पौष ७, आइतवार , ११:०८:०१ बजे

Sajhamanch
'

झापामा लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजना पक्राउ

आइतवार, पौष ७, २०८१

झापा । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० हजार ६४६, चार केजी गाँजा, गाँजा बनाउँदा प्रयोग हुने घरेलु औजारसहित उनकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै, झापाको मेचीनगर-६ कालिखोला सरस्वती टोलका ४१ वर्षीय रुपेश पाख्रिनले घरमै लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको सूचनाको आधारमा उनीसहित उनका साथी ३२ वर्षीय डिकबहादुर मगरलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट २ ग्राम खैरो हेरोइन बरामद गरिएको र दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

त्यस्तै, दमक-२ मा बस्दै आएका इलाम माङसेबुङ ४ माचेबुङका २४ वर्षीय रोदन लिम्बूलाई एक सय मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै, दमकबाट प्रतिबन्धित औषधिसहित दमक-७ हाटखोलाका २० वर्षीय नविन ठटाल भन्ने पदमबहादुर दर्जीलाई पक्राउ गरिएको छ ।

उनको साथबाट प्रतिबन्धित औषधिहरु ट्रामाडोल ८३ क्याप्सुल र स्पासपेन २८ ट्याब्लेट भेटिएको र उनमाथि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु सबैलाई हिजो बिहान, दिउँसो र साँझ पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिए ।

सम्बन्धित खबर