२०८१ पौष ५, शुक्रवार , ०४:२६:१४ बजे

Sajhamanch
'

विपन्न विद्यार्थीलाई ओली आमाको न्यानो कपडा

शुक्रवार, पौष ५, २०८१

शिवसताक्षी । सामाजिक व्यक्तित्व तुलसादेवी ओलीले शिवशताक्षी नगरपालिका वडा नं. ४ सालमाराका १३० जना विद्यार्थीलाई न्यानो लुगा (ट्रयाक सुट) प्रदान गरेकी छन् । पुष महिनाको जाडोमा लुगलुग काम्दै विद्यालय आउनुपर्ने विपन्न परिवारका नानीहरु न्यानो लुगा पाएपछि दंग पनि परेका छन् ।

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय सदस्य तुलसादेवीले परिवारका सदस्यसहित विद्यालय हातामै पुगेर उक्त सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । सो अवसरमा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

यो वर्षमात्र समाजसेवी ओलीले करिब १० लाख रुपैयाँ बराबरको आर्थिक सहायता तथा यस्तो सामाजिक कार्य सञ्चालन गरेको सो अवसरमा जनाइएको छ ।

झापाको शिवशताक्षी, कनकाई, भद्रपुर र अर्जुनधाराका सामुदायिक तथा फरक क्षमता भएका आश्रमका विद्यार्थीहरूलाई उनले सहयोग गरेकी हुन् ।

उनले यसअघि शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयका २५ जना विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यान्न र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी थिइन् भने अर्जुनधाराको अपाङ्ग बाल सरोकारका १३ जना, कनकाईको सुस्त मनस्थिति केन्द्रका १३ जना र पुकार अपाङ्ग संस्था कनकाईकै १५ गरी ४१ जना फरक क्षमता भएका बालबालिकालाई ट्र्याक सुट प्रदान गरिसकेकी छन् ।

तुलसा देवीले आफ्नो जन्मदिन, दिवंगत पितृहरूको सम्झना र वर्षको कुनै एक महत्वपूर्ण दिनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्ति वा संस्थालाई आवश्यक आर्थिक तथा जिन्सी सहयोग प्रदान गर्ने गर्ने गरेको बताइएको छ ।

यता, शिवसताक्षी नगरको वडा नम्बर ९ स्थित चिल्लागढ पोखरीमा २५० जना अटाउन सक्ने सभाहल निर्माणका लागि ओली परिवारले कार्य थालनी गरेको छ। आफ्नो परिवारको आम्दानी स्रोतको दशांश समाजसेवामा खर्च गर्ने उनको पूर्व योजना हो ।

प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष समाजसेवी यज्ञराज ओलीकी धर्मपत्नी तुलसादेवी करिब दुई दशकदेखि समाजसेवामा अग्रसर महिला हुन् ।

ओली दम्पतिका सबै छोरा बुहारी, छोरी ज्वाईं डाक्टर छन् । तुलसादेवीले शताक्षी धामको गोलोक गोवर्धन गौशालाले सञ्चालन गरेको श्री शताक्षी गुरुकुलमका लागि १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेको पनि जनाइएको छ ।

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै ओलीले विपन्न वर्गका बालबालिकाको शैक्षिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले आफूले यस्ता कार्यक्रम सञ्चालन गरेको बताइन् । “शिक्षा सबैका लागि समान हुनुपर्छ। विपन्न विद्यार्थीलाई सहयोग गरेर उनीहरूलाई पनि आत्मविश्वासी बनाउनु मेरो प्राथमिकता हो” उनले बताइन् ।

सम्बन्धित खबर