२०८१ माघ १३, आइतवार , ०४:०६:५० बजे

Sajhamanch
'

मेचीनगरमा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण कार्यक्रम आज ४ नं. वडामा

बिहिवार, पौष ४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम लक्षित वर्गका लागि साह्रै राम्रो अवसर बनेको पाइएको हो ।

सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको १५ वटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको सो कार्यक्रम बुधबार वडा नम्बर ३ मा सञ्चालन भएको थियो ।

सो वडामा नयाँ तथ्यांक अनुसार ७९ जना अपाङ्गता भएका मानिसहरू रहेको मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए । उनका अनुसार अभियानमा सबै लक्षित वर्गको सहभागिता रहेको छ । उनले अपाङ्गता भएकाहरूको विशेषज्ञ डाक्टरसहित स्वास्थ्य परीक्षण गरी अपाङ्गता पहिचान र परिचय पत्र वितरणसमेत गरिएको बताए ।

नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको विशेष स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले जानकारी दिए ।

मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्विलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहको जनाइएको छ ।

आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् । उनले बिहीबार बिहान ८ बजेदेखि मेचीनगर ४ वडा कार्यालयमा कार्यक्रम सञ्चालन हुने पनि जानकारी दिइन् ।

सम्बन्धित खबर