२०८१ माघ १४, सोमवार , १२:१८:२३ बजे

Sajhamanch
'

झापामा १५०० हाराहारी एचआइभी संक्रमित, ७०० लाई प्रत्यक्ष र नियमित औषधी प्रदान

बिहिवार, पौष ४, २०८१

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ ।

बुधबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी संक्रमितहरुको क्षेत्रमा स्वास्थ्य उपचार, पौष्टिक आहारको व्यवस्थापन र यातायातमा सुविधा प्रदान गर्दै आएको एएचएफले परियोजनाका बारेमा जानकारी गराएको छ ।

एएचएफका तर्फबाट निकेश आचार्यले परियोजनाको लक्ष्य र उद्देश्यका बारेमा प्रकाश पारेका थिए । उनले संक्रमितहरुको विवरण समेत प्रस्तुत गरेका थिए ।

बैठकमा प्रादेशिक अस्पतालका कञ्चन नेपालीले भद्रपुर एआरटी सेन्टरबाट ४८८ जनाले सेवा लिइरहेको जानकारी गराएकी थिइन् ।
भद्रपुरका नगरप्रमुख पोखरेलले एचआइभी संक्रमितहरुको समस्या समाधानमा स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले परियोजना सञ्चालन गर्ने निकायसँग सहकार्य गर्दै जाने बताएका छन् । कार्ययोजना नै बनाएर काम गर्न स्थानीय सरकार तयार रहेको उनको भनाई थियो ।

यस्तै, उपप्रमुख राधा कार्कीले समाजमा एचआइभी बारे सचेतना फैलाउन जरुरी रहेको बताइन् । उनले सचेतना फैलाउनका लागि समन्वय गरेर जाने जानकारी दिइन् ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी थप समन्वय गरेर एएचएफको परियोजनालाई लक्षित वर्गमा प्रभावकारी बनाउन सहयोग गर्ने धारणा राखे ।

झापाको भद्रपुर र दमकमा गरेर करिव ७०० जना संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेका सो अवसरमा जनाइएको छ । १५ सय संक्रमित रहेको झापामा एएचएफले विपन्न परिवारका संक्रमितहरुलाई यातायाता, औषधि उपचार र पोषणयुक्त खानपानमा समेत सहयोग गर्दै आएको छ ।

सम्बन्धित खबर