काठमाडौं । हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला नेपाली युवा टोलीले जितेको छ । आज भएको दोस्रो खेलमा हङकङलाई २२६ रनले हराउँदै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमै अलआउट भयो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै १६ रन बनाए । हङकङका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका दयानन्द मण्डलले ४ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो । नेपालका सोहेल कुँवरले ८१, सन्तोष यादवले नटआउट ६६ रन बनाए । हङकङका डेनेल मापले ३ विकेट लिए ।
पहिलो खेल नेपालले ३ विकेटले जितेको थियो । नेपाल र हङकङको १९ वर्षमुनिको तेस्रो तथा अन्तिम खेल पर्सि शुक्रवार हुनेछ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।