२०८१ पौष ३, बुधवार , ११:०३:१२ बजे

Sajhamanch
'

सकारात्मक जीवनशैली बारे मोनिका सिंघलको प्रस्तुति : भद्रपुरमा सम्पन्न, आज बिर्तामोडमा हुँदै

बुधवार, पौष ३, २०८१

झापा । झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविर गरिएको छ ।

भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त आयोजनामा भारतकी चर्चित सामाजिक अभियन्ता, जीवन जिउने कलाकी सफल मार्गदर्शक मोनिका सिंघलको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।

भद्रपुर–६ स्थित होटल सिटी गार्डनमा आयोजित शिविरमा भारतको चण्डीगढमा स्थापित हरिओम स्माइल्सकी संस्थापक मोनिका सिंघलले प्रवचन तथा विभिन्न क्रियाकलापका साथ सहभागीहरुलाई सकारात्मक तथा निरोगी जीवन जिउने कला सिकाएकी थिइन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, जिल्लास्थित प्रशासनिक तथा सरकारी निकायका उच्चपदस्थ अधिकारीलगायत भद्रपुरबासीको उल्लेख्य सहभागिता रहेको शिविरमा प्रस्तोता सिंघले प्रकृतिप्रदत्त पृथ्वी, जल, वायु आकाश र अग्निका तत्वहरुको समुचित उपयोगले स्वस्थ र समृद्ध जीवन जिउन सकिने बताइन् ।

उनले ध्यानबाट, हाँसोबाट, नियमित व्यायामहरुबाट तनावमुक्त जीवन जिउन सकिने मात्र नभई घातक रोगहरुलाई पनि जित्न सकिने बताइन् । नेपालमा पहिलोपटक आफ्नो प्रस्तुति दिएकी सिंघलले आफ्नो अभियानले धेरैलाई असाध्य रोगहरुबाट समेत मुक्त गर्न सकेको दावी गरिन् ।

हरि ओम स्माइल्सले एक दशकभन्दा बढी समयदेखि ध्यान, आत्म–साक्षात्कार र सकारात्मक जीवनशैली सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सिंघलले आज बिर्तामोडमा पनि कार्यक्रम गर्ने सहजीकर्ता सुरेशकुमार मित्तलले जानकारी दिए ।

कार्यक्रममा सिंघललाई भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा संघ र भद्रपुर मारवाडी महिला मञ्चको तर्फबाट सामुहिक रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित खबर