झापा । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यरुपमा मनाउन नेपाली सेनासँग सहकार्य गरेका झापा जिल्लामा रहेका विद्यालयहरुलाई सहभागी गराई फुटबल, भलिबल, हाजिरीजवाफ, कविता, वक्तृत्वकला, चित्रकला लगायतका प्रतियोगिता सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् ।
प्रतियोगितामा झापा मोडल, एरा एभरग्रीन, टावर टेम्पल, इस्ट होराइजन र स्वस्तिका शिशु सदनका विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता मंसीर ३० गतेदेखि प’ष २ गतेसम्म गण परिसरमा आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तरगत सोमबार टावर टेम्पल र झापा मोडेलबीच छात्र फुटबल, टावर टेम्पल र एरा एभरग्रीनबीच छात्रा भलिबल, इष्ट होराइजन र एरा एभरग्रीनबीच छात्र भलिबल गराइयो ।
यस्तै सो बाहेक हाजिरीजवाफ र पृथ्वीनारायण शाहको जीवनीमा आधारित वक्तृत्वकला प्रतियोगिता भएको थियो । मंगलबार कविता र चित्रकला प्रतियोगिता सञ्चालन गरी प्रतियोगिता सकिएको छ ।
विभिन्न विधामा संचालित प्रतियोगिताको समग्रमा इष्ट होराइजन स्कूल प्रथम भएको छ । फुटबल खेलमा टावर टेम्पल स्कूल र छात्र तथा छात्रा भलिबलमा स्वस्तिका शिशुसदन प्रथम भएका छन् ।
विजेता स्कूललाई ट्रफी तथा प्रमाणपत्र र उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए