२०८१ माघ १४, सोमवार , ०२:००:१७ बजे

Sajhamanch
'

राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा प्रवेश

मङ्गलवार, पौष २, २०८१

बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।

जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।

यसअघि खेलको १७औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।

खेलको २०औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो ।

खेलको २२औँ मिनेटमा जिटिएले खेल बराबरी गर्याे । देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।

३६औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोललाइनबाट बचाए ।

पाँचौँ मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलकिपरले उत्कृष्ट बचाउ गरे । १३औँ मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ६८औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो ।

खेलको प्लेयर अफ दि म्याच विजेता जागृतिका गोलकिपर चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर