बिर्तामोड । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ ।
सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पुर्याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो ।
सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।
खेलको ३७औँ मिनेटमा सलहेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो ।
आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको २०औं मिनेटमा आर्मीका निरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सलहेशका गोलकिपर दिप कार्कीले सहजै नियन्त्रणमा लिए ।
५५औँ मिनेटममा आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मीका समर्थक निराश भएका थिए ।
खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।