२०८१ पौष ३, बुधवार , १०:५२:३२ बजे

Sajhamanch
'

प्रथम झापा कप फुटबल प्रतियोगिता : मुख्यमन्त्री कार्कीद्वारा समुद्घाटन, त्रिभुवन आर्मीको विजयी सुरुवात

शनिवार, मंसिर २९, २०८१

झापा । बिर्तामोडमा आजदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे ।

खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।

आर्मीका लागि अर्को गोल खेलको ८२औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।

मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् ।
खेलमा मोरङले खासै मुभ बनाउन सकेन ।

खेलको ४७औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।

खेलको प्लेयर अफ दि म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने तालिका छ । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा कप २०८१ प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए ।

उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाए ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका झापा सभापति देउमान थेवे, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतको आतिथ्य थियो ।

बिर्तामोडका फुटबल समर्थकको योजनामा यो वर्षदेखि झापा कप आयोजना हुन थालेको हो ।

सम्बन्धित खबर