![](https://sajhamanch.com/wp-content/uploads/2024/12/cycle-hastantaran.jpg)
बिर्तामोड । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी बिर्ताबजारले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरी प्रथम स्थापना दिवस मनाएको छ ।
बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा अध्ययनरत दुईजना छात्रालाई साइकल वितरण गरिएको हो । साइकल पाउनेमा बिर्तामोड–९ कोलाटोली घर भई कक्षा ९ मा अध्ययनरत गोमा राजवंशी र बिर्तामोड–१० तेलगानी घर भई कक्षा ८ मा अध्ययनरत पवित्रा बोहोरा हुन् ।
टाढाबाट विद्यालय धाउन समस्या भएका विद्यार्थीहरुलाई प्रतिकात्मक रुपमा सो सहयोग गरिएको भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । उनले विद्यालय र विद्यार्थीहरुको समस्यामा सघाउ पुर्याउनकै लागि भूतपूर्व विद्यार्थी समाज स्थापना गरिएको जानकारी पनि दिए ।
विद्यार्थी समाजका अध्यक्ष पोखरेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरु, शिक्षक र विद्यार्थीहरुको सहभागिता थियो ।
समाजका सदस्य काजी बुढाथोकीले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि उपाध्यक्ष मदनगोपाल सुब्बाले प्रकाश पारेका थिए । विद्यार्थी समाजका अध्यक्ष पोखरेल र सदस्य रुपक थापा गोदारले एक–एकवटा साइकल प्रायोजन गरेको सो अवसरमा बताइयो ।
स्थापना भएयता विद्यार्थी समाजले यस किसिमका रचनात्मक कार्यहरु निरन्तर गर्दै आएको छ ।