काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।
‘सरकारले यो व्यवसायलाई धराशायी हुन दिँदैन । यो म दाबीका साथ भन्छु’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईँहरूले भनेको सय प्रतिशत माग पुरा नहोला । यो व्यवसायलाई अगाडी बढाउनेगरि सरकारले यहाँहरुको समस्यालाई सुन्छ । समस्या समाधान गर्छ र व्यवसायलाई प्रवर्द्धन गर्छ ।’
सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनले बताए । अर्थमन्त्री घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे ।
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै उनले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे । उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए ।