काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यो वर्ष दिगो भविष्यका लागि जलवायु अनुकूलन, नवप्रवर्द्धन र युवामा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन् २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन् । नेपाल पर्वतारोहण सङ्घले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा पोखरामा नवौं पर्वतीय महोत्सव गरिरहेको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैरो पोखरामा यही मङ्सिर २३ गतेदेखि भइरहेको महोत्सव भोलि सकिँदैछ । पर्सि शुक्रवार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम रहेको सङ्घले जनाएको छ ।