२०८१ मंसिर २६, बुधवार , ०४:४१:५८ बजे

Sajhamanch
'

जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट

मङ्गलवार, मंसिर २५, २०८१

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ्यमा चुनौती थपिएका छन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार महिनावारीको अवधि लम्बिने, असामान्य रक्तस्राव हुने र गर्भधारणमासमेत समस्या हुने घटना बढेका छन् । यो जलवायु परिवर्तनको एक प्रभावका रूपमा लिन सकिने उनको भनाइ छ ।

हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको विज्ञहरु बताउँछन् । स्थानीय पर्यावरण मात्र नभई महिलाको जीवनशैली र स्वास्थ्यमासमेत असर पुर्‍याएको अभियान्ता प्रजिता कार्कीले बताए ।

स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको अनुमान गर्न सकिन्छ ।

यस्ता समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ ।

महिलामा जलवायु परिवर्तनको असर भएको महसुस भयो अब यो विषय गहिरो खोज र अध्ययनको विषय बनेको उहाँको भनाइ छ । खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ ।

खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरु अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरुको पोषणमा असर पर्नसक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरु उब्जाउ हुने जग्गाहरु बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताए।

हिमनदीहरू खस्कँदै, हिमालहरु कालापत्थरमा परिणत हुँदै

सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् ।

पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आउनुभएको छ । पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ ।

स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो ।

बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ ।

मङ्गलवार, मंसिर २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर