२०८१ मंसिर २८, शुक्रवार , ०१:३८:४६ बजे

Sajhamanch
'

एनपीएल क्रिकेट : कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । जीतका लागि १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए ।

लुम्बिनीका कप्तान रोहित पौडेलले ४ विकेट लिए । त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो ।

पौडेल जारी एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन बनाएका थिए । रोहित २६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् ।

त्यस्तै आजको खेलमा लुम्बिनीका साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।

सम्बन्धित खबर