२०८१ पौष ७, आइतवार , ०३:१८:४२ बजे

Sajhamanch
'

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने रास्वपाका २९ कार्यकर्ता रिहा

मङ्गलवार, मंसिर २५, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका २९ जना नेता कार्यकर्ता गएराति रिहा भएका छन् ।

गौरादहमा १८ , कनकाईमा ९ र कमलमा २ जना पक्राउ परेका थिए । ती सबैलाई राति छोडिएको प्रहरीले जनाएको छ । हिजो दिउँसो २ः५५ बजे गौरादह –५, स्थित स्कुलचौनमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट गौरादह बजारमा आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रधानमन्त्री ओलीलाई गौरादह बजारस्थित झापा बेकरी हाउस अगाडि रास्वपाका कार्यकर्ताहरूले कालो झन्डा देखाएका थिए ।

त्यस क्रममा रास्वपाका गौरादह नगर सभापति जगत् अधिकारीसहित १८ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा पार्टीका गौरादह नगर सभापति जगत् अधिकारी , गौरादह नगर सचिव प्रवीण बस्नेत , क्षेत्र नं. ५ की क्षेत्रीय सदस्य निर्मला शर्मा , दमक नगर उप–सभापति प्रतिमा दाहाल, गौरीगंज गाउँपालिका सचिव उद्धवप्रकाश गौतम, दमक नगर सचिव प्रवीण पाठक,गौरादह ७ का वडा सभापति ऋषिराम प्रसाईँ ,पार्टी सदस्यहरू अनीश सुवेदी,टंक खनाल,गणेशराज पाण्डे, छत्रपति भट्टराई ,छत्रबहादुर कार्की , गौरादह ३ का वडा सभापति कमल बस्नेत , गौरादह ५ का वडा सभापति भवानीप्रसाद फुयाँल,पार्टी सदस्य बाबुराम दाहाल , नगर सदस्य खेमप्रसाद लुइँटेल, गौरादह ४ का वडा सचिव दीपक सापकोटा र वडा नं ४ का सभापति युवराज खड्का रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने रास्वपाका थप ९ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । गौरादहको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बिर्तामोडतर्फ आउँदै गर्दा कनकाईको सुरुङ्गामा रास्वपाका नेता कार्यकर्ताहरूले नाराजुलुसहित कालो झन्डा देखाएका थिए ।

त्यस क्रममा ९ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा रास्वपाका झापा जिल्ला उपसभापति प्रकाश पाठक, बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती , क्षेत्र नं.२ का क्षेत्रीय सचिव दीपक दाहाल, झापा क्षेत्र नं. ४का क्षेत्रीय सभापति शम्भु सुस्केरा , शिवसताक्षी नगर कोषाध्यक्ष रमेश घिमिरे ,कोशी प्रदेश कानुन विभाग प्रमुख सुरेशकुमार पोख्रेल , भद्रपुर नगर संयोजक लक्ष्मण बस्नेत , भद्रपुर नगर सभापति प्रेम न्यौपाने र क्षेत्र नं.२ क्षेत्रीय सभापति कमल मोहन उप्रेती रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो ।

त्यस्तै दमक –३ स्थित बेलडाँगी खानेपानी आयोजना उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाई कमल –५, पाडाजुँगी चोकमा प्लेकार्डसहित कालो झन्डा देखाउने दुईजना पक्राउ परेका थिए ।

पक्राउ परेर इलाका प्रहरी कार्यालय दमकमा राखिएका कमल –४ बस्ने सरोज भट्टराई र वडा नं ५ बस्ने सुमन श्रेष्ठलाई राति ८ः२० बजे रिहा गरिएको प्रहरीले जनाएको छ ।