काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा हिजोदेखि अवरोध हटेको हो ।
यही मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान साढे ४ बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी गाडी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम शुरू भएको थियो ।