काठमाडौं । गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनशिपमा लगातार तेस्रो हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हिजो भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो ।
गण्डकी पहिलो खेलमा माल्दिभ्सको एचडीसी क्लबसँग र दोस्रो खेलमा हेल्प नेपालसँग पराजित भएको थियो । यस्तै हिजोको पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडीसीलाई सोझो सेटमा पराजित गरेको छ ।
कभर्डहलमा भएको खेलमा क्यालिकटले एचडीसीलाई ३–० ले हराएको हो । क्यालिकटको यो पहिलो जीत हो । पहिलो खेलमा क्यालिकट नेपालको हेल्प नेपाल स्पोर्ट्स क्बलसँग ३–२ को सेटमा पराजित भएको थियो । पहिलो खेल जितेको एचडीसीको यो लगातार दोस्रो हार हो ।
काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित चार देशका पाँच क्लब सहभागी छन् । आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत आज कुनै पनि खेल छैन । आज फाइनल यही मङ्सिर २९ गते हुनेछ ।