सर्लाही । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई आइतबार साँझ दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो । प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ ।