काठमाडौं । कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवन आज भारत फर्कँदैछन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीबाट चार खेल खेलेका उनी आज साँझ ५ बजे भारत उड्न लागेका हुन् ।
कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । सहमतिअनुसार ४ खेल खेलेसँगै उनी आज स्वदेश फर्किने भएका हुन् ।
११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताए ।
एनपीएलको पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित तथा महंगा अन्तर्राष्ट्रिय क्रिकेटर थिए धवन ।प्रत्येक खेलका लागि ३० हजार डलर लिने सम्झौता गरी कर्णालीमा अनुबन्धित भएका उनले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेनन् ।
एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । ४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।