काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन् ।
१७औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमा नै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताएका हुन् ।
निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकममध्ये केही उपलब्ध गराइसकिएको भन्दै मन्त्री दाहालले बाँकी रकमसमेत आउँदो साता निकासा हुने जानकारी गराए ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने गरेकाले सबैतिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरुलाई आग्रहसमेत गरेका छन् । नीतिगत र कानूनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिवद्धता थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको आवश्यकता औंल्याए । यसका लागि सरकारले कतिपय नीतिगत र कानूनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको पनि बताए ।
महासंघले निर्माण दिवसको अवसर पारेर प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए ।