२०८१ पौष ७, आइतवार , ०७:३५:५६ बजे

Sajhamanch
'

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा र गिरीको प्यानलगत उम्मेदवारी

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । सो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी अघिल्लो चुनावमा विपुल पोखरेलसँग पराजित भएकी थिइन् । शर्मा चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवार बनेकी हुन् ।

प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षसहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको उपाध्यक्ष राजेश राईले बताए । उनका अनुसार महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

प्रेस युनियनका तर्फबाट महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले बताए ।

‘प्रेस चौतारी नेपाल र हामीले केन्द्रीय पदाधिकारीदेखि जिल्लासम्म साझा उम्मेदवारी दिने सहमति भएको छ, त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ’ अर्यालले भने ।

सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानल विरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ ।

गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।

उनका अनुसार यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ ।

महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् ।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।

सम्बन्धित खबर