काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ ।
सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शुक्रबार सो जानकारी दिएका हुन् ।
अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको पनि उनले जानकारी दिए ।
२०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्स्यौट गरिरहेको उनको भनाइ छ ।
‘अब हामीसँग ८ वर्ष पुराना मुद्दाहरु १५४ थान बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि ८ वर्ष नाघेका मुद्दाहरु नराख्ने हो ।’
सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको पनि उनले बताए । अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको पनि उनले जानकारी गराए ।