जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।
शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।
मृतकका कान्छो छोराका अनुसार मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।