काठमाडौं । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ ।
यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि.सं २०४५ सालदेखि यो कार्यक्रम शुरू भएको हो । सरकारले हरेक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत हुनुपर्ने व्यवस्था गरेको छ ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् ।
विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्यसम्बन्धी सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।