२०८१ माघ १४, सोमवार , ०१:१४:३५ बजे

Sajhamanch
'

मेचीनगरमा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

बुधवार, मंसिर १९, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारिक कार्यक्रमसंगै विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नाराका साथ मेचीनगरमा पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै उनले, नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको बताउँदै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक रुपले समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिइन् ।

अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै उहाँहरूलाई पनि अन्य नागरिक सरह सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने संविधानको मर्म हो । त्यसलाई पूर्ण रुपमा पालना गर्न सबै सचेत नागरिक लाग्नुपर्ने मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् । उनले संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गर्न आवश्यक रहेको बताए ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले अझै पनि अपाङ्गता भएका व्यक्तिहरू प्रति समाजमा नकारात्मक भावनाहरू पैदा भइरहेको बताए । त्यसलाई चिर्दै समाजमा परिवर्तन ल्याउन मेचीनगर लागि परिरहेको उनको भनाई थियो । उनले अपाङ्गताका क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरूको कार्यलाई व्यवस्थित बनाई सेवा प्रवाहमा सरलता एवम् एकरूपता ल्याउन तथा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढिरहेको बताए ।

३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसलाई महत्व दिँदै नगरपालिकाले रचनात्मक कार्य सम्पन्न गर्दै अभिभावकत्व प्रदान गरेकोमा अपाङ्गताको क्षेत्रमा सेवा गर्नेहरुलाई थप हौसला मिलेको राष्ट्रिय अपाङ्ग महासंघका धर्मराज घिमिरे बताउँछन ।उनले यस क्षेत्रमा नगरपालिका अझ उदार भएर लाग्नेमा आफूहरु अझ आशावादी रहेको बताए ।

सबै वडाका अपाङ्गता भएका मानिसहरुको सहभागिता रहेको उक्त अवसरमा औपचारिक कार्यक्रम पश्चात हन्डी फुटाउने, बिस्कुट दौड, चम्चा दौड, सियो दौड प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको थियो । उक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्वितिय, तृतिय र सान्त्वनाहुनेहरुलाई पुरस्कार स्वरुप नगद पाँच हजार, चार हजार, तीन हजार र दुई हजार प्रदान गरिएको मेचीनगर महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

सम्बन्धित खबर