२०८१ मंसिर १९, बुधवार , १०:२७:०० बजे

Sajhamanch
'

विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । जनकपुरधाममा चलिरहेको साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन हिजो धनुषयज्ञ सम्पन्न भएको छ । विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्यस अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि सहभागी भएको थियो । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव र भोलि पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ ।

मुख्य दिन पर्सि जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्‍याउने छ ।

त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

यसैबीच मधेस प्रदेश सरकारले जनकपुरधाममा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवासको व्यवस्था गरेको छ ।

रामजानकी विवाह हुने दिन पर्सि शुक्रवार जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले शहरका विभिन्न ठाउँमा अस्थायी आवासलगायत संरचना बनाएको छ ।

सम्बन्धित खबर