२०८१ पौष २७, शनिवार , ०५:१६:५७ बजे

Sajhamanch
'

कचनकवल गाउँपालिकामा १० महिनाभन्दा बढी किन टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

मङ्गलवार, मंसिर १८, २०८१

कचनकवल । सामान्यतया दुई वर्षसम्म कर्मचारीको सरूवा नगर्ने सरकारी नीति रहे पनि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरदर १० महिना मात्र बस्ने गरेको पाइएको छ ।

कर्मचारीतन्त्रलाई राजनीतिले बन्धनमा पार्ने प्रयास हुँदा कचनकवलमा प्रमुख प्रशासकीय अधिकृत सरदर १० महिनाभन्दा बढी बस्नै नसकेका हुन् ।

पहिलो स्थानीय तह निर्वाचन पछि त्यहाँ गएका कुनै पनि प्रमुख प्रशासकीय अधिकृत पूर्ण अवधि बस्ने वातावरण बनेको देखिँदैन ।
पहिलो कालखण्डमा राप्रपाको एकछत्र राज रहेको कचनकवलमा राजनीतिक हस्तक्षेपको सुरूवात पनि त्यही बेलाबाट भएपछि पछिल्लो कालखण्डमा काँग्रेसको दुई तिहाइ रहेको कचनकवलमा प्रमुख प्रशासकीय अधिकृत आउन नचाहने र आएका पनि न्यूनतम अवधिसम्म नटिक्ने अवस्थाले प्रशासनिक काममा उल्झन आउने गरेको बताइएको छ ।

पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतले कचनकवल गाउँपालिका छोडेको डेढ महिना बितिसकेको छ । तर नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा को आउने अन्यौल रहँदा प्रशासनिक काममा अलमल भइरहेको सेवाग्राहीको भनाई छ । विकास निर्माणका कामदेखि प्रशासनिक कामसम्मको प्रमुख जिम्मेवार पद खाली रहँदा समस्याको अनुभूतिमा स्थानीय छन् ।

नेपाली कांग्रेसको दुई तिहाई बहुमत रहेको कचनकवलमा प्रशासनिक काममा हस्तक्षेप भएको भन्दै २ वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृतले पालिका छोडेर अन्यत्र सरूवा मिलाएर गइसकेका छन् । गाउँपालिकामा २०७४ सालयता ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएको देखिन्छ ।

राप्रपाको बहुमत रहँदादेखिको राजनीतिक हस्तक्षेप काँग्रेसको दुई तिहाई बहुमत हुँदासम्म उही गतिमा निरन्तर रहेको कार्यरत कर्मचारीको अनुभव छ ।

विकास निर्माणको रकम विनियोजनदेखि पालिकाका क्षेत्रमा पर्ने कर्मचारी नियुक्ति, सरूवा, बढुवा, अनुदान, कमिशनको चलखेल वा अवसर प्रदान गर्ने विषयमा राजनीतिक हस्तक्षेप हुने गरेको कर्मचारीको आरोप छ ।

अर्कोतर्फ कर्मचारीले अधिकारको नाममा राजनीति माथि बन्देज गर्ने प्रवृत्ति बढ्दा असमझदारी बढेर प्रमुख प्रशासकीय अधिकृत निर्धारित अवधि अगावै सरूवा लिएर हिड्ने गरेको जनप्रतिनिधिको भनाई छ ।

किन २०७४ देखि यहाँ लामो समय प्रमुख प्रशासकीय अधिकृत बस्न मान्दैनन् । अस्थिर प्रशासन भएको भन्दै पालिका सरकार माथि प्रश्न चिन्ह खडा हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृतहरू भने आफूहरुलाई नियम कानून विपरित काम गर्न राजनीतिक दबाव आउने गरेकोले जुनसुकै बेला कानूनको झमेलामा पर्ने डरले लामो समय जनप्रतिनिधिसँग विवादित भएर बस्न नसकेको आफ्ना निकटस्थहरुसँग सुनाउँछन् ।

तोकिएको न्यूनतम समयसम्म पनि प्रमुख प्रशासकीय अधिकृत पालिकामा बस्न नसक्दा धेरै समय रिक्त रहने प्रमुख प्रशासकीय अधिकृत बिना विकास निर्माणदेखि अन्य सेवा प्रवाहमा ठूलो असर परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको भनाइ छ ।
‘पालिकामा कांग्रेसको बहुमतसहित जनप्रतिनिधि छन् । हामीले त सहयोग गरेका नै छौं तर कांग्रेस भित्रको अन्तरकलहको कारण प्रमुख प्रशासकीय अधिकृतलाई नचाहिँदो दवाब दिँदा बस्न नसकेको’ उपाध्यक्ष भट्टराईको भनाई छ ।

२०७४ देखि हालसम्म कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा बिमल पोखरेल, गङ्गा न्यौपाने, रेखनाथ दाहाल, तुलाराज थापा मगर, दुर्गाप्रसाद पौडेल, कुमार बस्नेत, हिराकुमारी यादव, सुभाषचन्द्र सुमन, पुण्यप्रसाद पौडेलले काम गरेका छन् । सात वर्षमा ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको कचनकवलमा एकजना अधिकृत सरदर १० महिना मात्र रहने गरेको देखिन्छ ।

सम्बन्धित खबर