काठमाडौं । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रियस्तरमा राम्रो बजार पाएको छ । तर, नेपालमा यसको प्रवर्धन र विकास भने खासै हुन सकेको देखिँदैन ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको उल्लेख छ ।
बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अध्ययन प्रतिवेदनअनुसार बाह्य बजारमा अदुवाबाट बनेका विभिन्न खाद्यवस्तुहरूको माग पनि हुने गरेको पाइन्छ ।
विशेषतः सल्यान, पाल्पा, इलाम, नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, भोजपुर लगायत जिल्लामा अदुवा खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ बताउँछन् । यीमध्ये केही जिल्लामा अदुवा जोनको रूपमा घोषणा गरी खेती विस्तार गरिएको उनको भनाइ छ ।
अदुवा बजार राम्रो भए पनि जात विकासदेखि लिएर यसको बीउ उत्पादन र संरक्षणमा समस्या रहेको उनी बताउँछन् ।
नेपालमा वार्षिक रूपमा २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । यो क्षेत्रफलबाट वार्षिक रूपमा करिब ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्याङ्क छ । श्रेष्ठका अनुसार अदुवाको उत्पादन बढाउन सकेमा अन्तर्राष्ट्रिय व्यापारको सम्भावना राम्रो छ ।
नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो स्थान पाएको छ । वार्षिक रूपमा ६ हजारदेखि २३ हजार मेट्रिक टन अदुवा नेपालबाट निर्यात हुने गरेको छ । योबापत नेपाललाई वार्षिक १ अर्ब २२ करोड रुपैयाँ बराबर आम्दानी हुने गरेको भन्सार विभागको तथ्यांकको छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका बाली विकास अधिकृत विकास खरेलका अनुसार अदुवा बाली निर्यातमुखी बलीमध्ये प्रमुख पर्दछ । खरेलले पनि नेपालमा अदुवाको उत्पादन बढाउन सकेमा आयस्रोत राम्रो बन्न सक्ने बताए ।
नेपालबाट अदुवा निर्यात मात्रै नभई केही मात्रमा आयात पनि भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा उत्पादित अदुवा भण्डारणको समस्या हुँदा ‘अफ सिजन’ मा भारतबाट आउने गरेको छ ।
वार्षिक ६्र०० मेट्रिक टन देखि साढे ८ सय मेट्रिक टन अदुवा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । यसबापत ११ करोडदेखि २६ करोड रुपैयाँसम्म वार्षिक रूपमा बिदेसिने गरेको छ ।