बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को विरानस्थित लक्ष्मी आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष जम्मा भएको छ ।
बिर्तामोड १ निवासी विष्णुप्रसाद भेटवाल र अमरदिप भेटवालले आइतबार सो विद्यालयमा आयोजित कार्यक्रममा दुईपक्षीय करारनामामा हस्ताक्षर गरी १० लाख रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदिनी न्यौपाने र सो विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष खरेलले सो विद्यालयमा वडा कार्यालयको अनुदानमा अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेको जानकारी दिए । उनले लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीहरुले माविका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने हैसियतका भएको पनि दावी गरे ।
वडाध्यक्ष खरेलले मानवता हराउँदै गएको बेला आर्थिक अभावमा पढाईबाट बञ्चित नहुन् भन्ने उद्देश्यबाट आफ्नो कमाईबाट शिक्षा क्षेत्रमा सहयोग गर्ने विष्णु भेटवालजस्ता दानवीरहरु अहिले पनि भएको र यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
दाता विष्णु भेटवालले विद्यालयको शिक्षण सिकाइसँगै व्यवस्थापन पक्ष पनि राम्रो भएकोले अक्षय कोषको पूर्ण सदुपयोग हुने बताए ।
विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै शाब्दिक स्वागत गरेका थिए भने योगगुरु विष्णु भट्टराई, समाजसेवी केशव कार्की, घनश्याम भण्डारी, हरिराज ओझा, अनिता शिवाकोटी, माधव विद्रोही लगायतले आ–आफ्ना धारण व्यक्त गरेका थिए ।