२०८१ मंसिर १७, सोमवार , ०३:३०:१५ बजे

Sajhamanch
'

दुई दशकमा दोब्बर बढ्यो एकल महिला संख्या

सोमवार, मंसिर १७, २०८१

काठमाडौं । नेपालमा पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको पाइएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सोमबार एकल महिलासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।

अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल महिला संख्या ९ लाख ९७ हजार ६६२ छ । यो विधवा, पारपाचुके गरेको, छुट्टिएको र ३५ वर्षमाथिको अविवाहित महिला संख्या हो ।

सन् २००१ मा पारपाचुकेरछुट्टिएर बसेका महिला संख्या ०.३ प्रतिशत रहेकोमा अहिले बढेर ०.७ प्रतिशत पुगेको छ ।

कुल एकल महिलामध्ये विधवा महिला संख्या अहिले ८ लाख २६ हजार १४७ रहेको देखिन्छ । देशभरि विधुर पुरुष संख्या भने २ लाख ५५ हजार ८ छ । यसप्रकार देशभरि विधवारविधुर संख्या १० लाख ८१ हजार १५५ जना रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।

देशभरि पारपाचुके गरेका महिला संख्या २१ हजार २८७ र पुरुष संख्या १५ हजार ८५२ छ । त्यस्तै छुट्टिएर बसेका महिला संख्या ५९ हजार ५२५ र पुरुष संख्या ३५ हजार ७५७ छ ।

३५ वर्षभन्दा माथि पुरुष बढी अविवाहित

तथ्यांक अनुसार ३५ वर्षभन्दा माथिका अविवाहित जनसंख्यामध्ये महिलाको तुलनामा पुरुष संख्या बढी रहेको पाइएको छ ।

२०६८ सालको जनगणना अनुसार देशभरि ३५ वर्ष माथिका ९९ हजार २१० पुरुष अविवाहित छन् । त्यस्तै ९० हजार ७०३ महिला अविवाहित छन् ।

यसप्रकार देशभरि ३५ वर्ष माथिका १ लाख ८९ हजार ९१३ अविवाहित रहेको तथ्यांकले देखाएको छ ।

सम्बन्धित खबर