२०८१ मंसिर १६, आइतवार , ०२:४६:२७ बजे

Sajhamanch
'

नोभेम्बरमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पोहोरभन्दा साढे ५ प्रतिशत धेरै

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।

नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार ४५८ सहित एशियाका देशबाट २४ हजार ८९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६११, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ जना पर्यटक आएका छन् ।

युरोपबाट समग्रमा २६ हजार १५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार ३०० जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार ९८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४०० र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित खबर