२०८१ पौष २६, शुक्रवार , ०५:३६:०० बजे

Sajhamanch
'

गोरक्षा महोत्सव उद्घाटन र पार्थिव शिवलिङ्गको अनावरणमा शिवसताक्षीमा स्थानीय विदा

आइतवार, मंसिर १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले भोलि मंसीर १७ गते स्थानीय विदा दिएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभर स्थानीय विदा दिएको हो ।

नगरपालिकाका प्रवक्ता बहादुर आङ्गबोले सताक्षीधाम नेपालकै प्रसिद्ध तीर्थस्थल र यसले शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए । उनले नगरले उक्त स्थानमा भोलिबाट हुन गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाका सबै क्षेत्रबाट उच्च सहभागिता रहोस् भन्ने हेतुले स्थानीय विदा दिने निर्णय गरेको बताए ।

उनका अनुसार नगरपालिकका बोर्ड बैठकबाट अत्यावश्यक सेवा बाहेक नगरका सबै वडा कार्यालय, स्वास्थ्य कार्यालय, शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको हो । बालाचतुर्दशी पर्वमा नगरपालिकाले अघिल्ला वर्षहरुमा पनि विदा दिँदै आएको थियो । यसपल्ट बालाचतुदर्शी पर्व शनिबार परेकाले पनि महोत्सव र शिवलिङ्ग अनावरणमा विदा दिइएको आङ्गबोको भनाई छ ।

सताक्षीधाममा भोलि १७ गते सोमबारदेखि २४ गतेसम्म गोरक्षा महोत्सव पनि सुरु हुँदैछ । उक्त स्थानमा नवनिर्मित सवा करोड रुद्राक्षबाट बनेको शिवलिङ्गको चताराधामका पिठाधिपति देवचार्य बालसन्त महाराजको बाहुलीबाट अनावरण गरिने श्री सताक्षी गोलोक गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए । उनले गोरक्षा महोत्सवको उद्घाटनमा सबैलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् ।

नवनिर्मित पार्थिव शिवलिङ्गले सताक्षीधाममा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास दिइएको छ ।

Scanned Image

सम्बन्धित खबर