काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न १० ठाउँमा आगलागी भएको छ । हिउँद लागेसँगै आगलागीको जोखिम बढेको र २४ घण्टामै १० ठाउँमा आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौं, भक्तपुर र पर्वतमा आगलागी भएका ती घटनामा सात लाख रुपैयाँभन्दा धेरैकोे क्षति भएको छ । तीनजना घाइते भएका छन् ।
चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय ठाउँमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले बताए।
उनले आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखदेखि भएका दुई हजारभन्दा बढी आगलागीका घटनामा ६६ जनाको ज्यान गएको छ । एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।