शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले शुक्रबार आफ्नो ४०औं स्थापना दिवस मनाएको छ ।
विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी पत्रकार सरोजकुमार भट्टराईसहित विद्यालयलाई विभिन्न समयमा सहयोग पुर्याने दाताहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।
विद्यालयले पत्रकारिताको माध्यमबाट स्थानीय स्तरका सूचना तथा शिक्षासँग सम्बन्धित सन्देशहरु प्रवाह गरिरहेका भट्टराईलाई सम्मान गरेको हो । पत्रकार भट्टराईलाई सत्य र निष्पक्ष पत्रकारितामार्फत जनचेतना अभिवृद्धि गर्न, समाजमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेलेकोमा प्रशंसा गर्दै विद्यायलयले सम्मान गरेको जनाएको छ ।
स्थापना दिवसको अवसर पारेर विद्यालयले २६ जना दाताहरुलाई सम्मान गरेको छ । विद्यालयमा छात्रवृत्तिका लागि स्थापना गरिएको अक्षयकोषका लागि स्थानीय मनोजकुमार लावतीले ५० हजार, वडाध्यक्ष सन्तकुमार फेउदिनले २५ हजार र वडाध्यक्ष पुष्पलाल पाण्डेले १० हजार रुपैयाँ सोही कार्यक्रममा प्रदान गरेका थिए ।
शिवसताक्षीको झिलझिलेमा रहेको गोपाल गौरी दिगो विकास प्रतिठानले पनि कार्यक्रम सञ्चालन गर्ने कोडिम विद्यालयलाई प्रदान गरेको छ । त्यसैगरी गएको एक वर्षभित्र समाजेवी मचिन्द्र सेर्माले २५ हजार, जंगविर इजमले २५ हजार, श्री राष्ट्रिय रमणीय आदर्श माविका पूर्व प्रधानाध्यापक उमानाथ दाहालले ५ हजार रुपैयाँ प्रदान गरेका सो अवसरमा जानकारी दिइयो ।
उनीहरुलाई सबैलाई विद्यालयको ४०औं स्थापना दिवसको अवसरमा शुक्रबार विद्यालयले सम्मान गरेको प्रधानाध्यापक ताराकुमारी लावतीले जानकारी दिइन् । अन्य एक वर्षभित्र विद्यालयको भौतिक निर्माणका लागि ईंटा, ढुंगा, सिमेन्ट, रोङ रोगन गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको हो ।
विद्यालयमा अध्यननरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री तथा जाडोमा लगाउने न्यानो कपडा वितरण गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुलाई समेत विद्यालयले सम्मान गरेको छ ।
स्थापना दिवसमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले विद्यालय सिमित स्रोत साधानले सञ्चालन भए पनि दाताहरुको सहयोगमा विस्तारै सुधार आउँदै गरेको बताए । ‘यहाँका शिक्षक र अभिभावकहरुको सहयोगबाट विद्यालयमा सुधार आउँदैछ’ उनले भने, ‘नगरपालिकाले पनि विद्यालयको कम्पाउण्ड वाल निर्माण गर्ने र विद्यालय भवनको चुहिने छानालाई नयाँ हाल्ने गरी काम गर्ने योजना बनाएका छौं ।’
श्रीमती स्व. लोकमाया लावती र छोरा स्व. लीलाराम लावतीको नाममा अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीहरुलाई स्थानीय रत्नकुमार लावतीले हाउस ड्रेस वितरण गरेका छन् । उनले उक्त विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ताराकुमारी लावतीले विद्यालयको समस्या र चुनौतिबारे प्रष्ट पारेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भट्टराई, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतम लगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर विश्वकर्माको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक गंगामाया ढकालले गरेकी थिइन् ।