झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । कात्तिक २५ गतेदेखि सञ्चालन गरिएको इकाइगत साधारणसभामा प्रस्तावित एजेण्डाहरु माथि छलफल गरी निकालिएको निश्कर्षहरु प्रमाणित गर्दै वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा अन्तिम माइन्युट प्रमाणित साधारणसभामा भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले कर्णाली साकोसले तत्काल कार्यक्षेत्र बिस्तार गर्ने योजना नबनाएको बरु पायकपर्ने सेवा केन्द्रहरुलाई एकापसमा गाभेर संस्थाको कारोबार चुस्त बनाउँदै खर्च घटाउने रणनीतिमा रहेको जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेखित मुख्य अंशहरु प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८१ असार मसान्तसम्म सदस्य संख्या ५६ हजार ४०९, चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७००, बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११०, कर्जा लगानी ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ तथा स्थिर सम्पत्ति १५ करोड ४४ लाख ५४ हजार ४५० रहेको जानकारी गराए ।
अध्यक्षीय मन्त्ब्य राख्दै उनले समीक्षा वर्षमा कर्जाको माग खासै नआएकोले ऋणको अंक वृद्धि हुन नसकेको कारण चालू वर्षसम्म संस्थामा तरलता थुप्रिएको बताए । संस्थाले ठूलो अंकको कर्जा लगानीलाई निरुस्ताहित गरेकोले पनि ऋणको अंक नबढेको उनको भनाई थियो ।
वर्तमान बजारमा व्यवसायीहरुको अवस्था देख्ता ऋणको साँवा किस्ता र ब्याज उठाउन जाने अवस्था पनि नरहेको सुनाउँदै अध्यक्ष श्रेष्ठले ऋणि सदस्यहरुलाई सकेजति ब्याज नियमित बुझाउँदै संस्थासँग निरन्तर सम्पर्कमा रहिरहन आग्रह गरे ।
साधारणसभाको माइन्युट प्रमाणित कार्यक्रममा संस्थामा मासिक ३ हजार रुपैयाँ बचत गर्ने दिवंगत शेयर सदस्य नारायणप्रसाद यादवको परिवारलाई सदस्य बीमा वापतको दुई लाख रुपैयाँ राहत प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि राजवंशी, संस्थाका अध्यक्ष श्रेष्ठ लगायतले शेयर सदस्य स्व. यादवका पत्नी ज्योति यादवको नाममा काटिएको दुई लाख रुपैयाँको डमी चेक छोरा लक्ष्मी यादवलाई हस्तान्तरण गरेका थिए ।
लक्ष्मीपुर सेवा केन्द्र अन्तरगतका नियमित बचतकर्ता, विशेष उपचार कोषका समेत सदस्य यादवको गत कात्तिक २२ गते मृत्यु भएको थियो । संस्थाले उनको नाममा रहेको दुई लाख ५३ हजार ९७२ रुपैयाँ ऋण मिनाह गरिदिएको तथा ६० हजार रुपैयाँ मानोचामल खर्चसमेत गरी जम्मा पाँच लाख १३ हजार ९७२ रुपैयाँ प्रदान गरिएको सचिव भुपाल बस्नेतले जानकारी दिए ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सहकारी संस्थाहरुले सदस्यको आवश्यकता र समस्या बुझेर उनीहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
आफू राजनीतिकर्मी पनि भएकाले अस्पतालमा उपचार गर्दा छुटका लागि आफन्त साथीभाइहरुले भनसुन गरिदिन आग्रह गर्ने कुरालाई स्मरण गर्दै राज्यमन्त्री राजवंशीले सहकारीमा सानो तर नियमित बचत गर्दा उपचार सुविधा पनि पाइने र छुटका लागि नेता गुहार्नु पनि नपर्ने कुरा सर्वसाधारणलाई पनि सिकाउनुपर्ने उनले सुझाए ।
पछिल्लो समय बैंकमा ऋण लिन जाने सर्वसाधारणहरु घटेको सुनाउँदै राज्यमन्त्री राजवंशीले बहुसंख्यक नेपालीका लागि सहकारीले वित्तीय आवश्यकता पूरा गरिरहेको बताए । सदस्यले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै राज्यमन्त्री राजवंशीले भने, “ऋण रकम सही ठाउँमा लगानी नभएको सहकारी संस्था र सदस्य दुवै समस्यामा छन् ।”
कर्णाली साकोसमा उत्पन्न खटपट अन्त्य गर्न आफूले तत्कालीन कृषिमन्त्रीलाई आग्रह गरेकैले यो संस्था दुर्घटनाबाट बचेको जिकिर गर्दै राज्यमन्त्री राजवंशीले सदस्य, सञ्चालक र कर्मचारीले हातेमालो गरेर काम गर्ने हो भने संस्थामात्र बच्दैन समाज पनि माथि उकास्न मद्धत पुग्नेछ ।
सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारी ऐन २०७४ पूर्णरुपमा कार्यान्वयन गरिदिएको भए सहकारी अभियानमा आजको स्थिति नआउने जिकिर गरे । सहकारीमा खराब प्रवृत्ति हावी भएकाले ६०० जति मानिसहरु अहिले प्रहरीको हिरासत र जेलमा रहेको उनले तथ्याङ्क पनि सुनाए ।
‘वित्तीय परिसुचक हेर्दा कर्णाली साकोस अरुभन्दा अब्बल छ, यस्तो आर्थिक मन्दीको बेला पनि वासलात अंक बढ्नु भनेको सकारात्मक पक्ष हो’ अध्यक्ष ढकालको भनाई थियो ।
सो कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा सहारा नेपाल साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक उपेन्द्रप्रसाद ओलीले सदस्यलाई असहज भएको अवस्थामा सहकारीले सघाएकाले सदस्यले पनि सहकारीलाई असहज भएको बेला काँध थाप्नुपर्नेमा जोड दिए । उनले संस्थाको वित्तीय अवस्थाका बारेमा विश्लेषण समेत गरेका थिए ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो माइन्युट प्रमाणिकरण साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गरेका थिए ।