२०८१ मंसिर १४, शुक्रवार , १०:०८:२५ बजे

Sajhamanch
'

पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास शृङ्खला खेलेको थियो ।

यो शृङ्खला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ । टेस्ट राष्ट्र शृङ्खलाको १९ वर्षमुनिको टोली १० खेलमा ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन ।

अहिलेसम्म ८ पटक एशिया कप खेलिसकेको नेपाल भने १ पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो ।

यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बङ्गलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सम्बन्धित खबर