काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । लोकतन्त्रका सकारात्मक पक्षको सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत हुनेछ ।
वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रमकै अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश संग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरिएको छ ।
प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार १८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्छ्योट गरिएको जानकारी गराए ।
वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल २३ मसिंरमा सकिँदैछ ।