२०८१ मंसिर १३, बिहिवार , १०:३३:१५ बजे

Sajhamanch
'

स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने इलामकी मगरसहित तीन पक्राउ

बिहिवार, मंसिर १३, २०८१

झापा । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्र्याप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्र्यापमा पारेर रकम असुलेका हुन् ।

घटना २०८१ मङ्सिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

वर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे । कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।

यसपछि अर्की अभियुक्त समृद्धि मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मङ्सिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो ।

थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।

घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

अरू व्यक्तिको खोजी जारी छ । उनीहरूको साथबाट ७५ हजार रुपैयाँको एसिया बैंकको चेक, नगद २० हजार ५०० रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।

दीपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

सम्बन्धित खबर