मेचीनगर । झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तल माथि हुने समस्याले झापामा उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् ।
बुधबार मेची उद्योग वाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा दक्षताको प्रवर्धन र अवसर’ विषयक कार्यशाला गोष्ठीका व्यवसायी र कर्मचारीहरुले यस्तो बताएका हुन् । झ्याप्प झ्याप्प बत्ती गइरहने र भोल्टेज तल माथि हुने समस्याका कारणले उर्जा बचत गर्न नसकेको उनीहरुको भनाई थियो ।
‘झापाका उद्योगहरुमा भोल्टेजको समस्या छ’, इलेक्ट्रिक इन्जिनियर अमोनेन्द्रप्रसाद विश्वासले भने– ‘उद्योगीहरुलाई प्राविधिक कुराको ज्ञान छैन । स्वीच अन गर्ने वित्तिकै मेसिन चल्नु पर्यो । भोल्टेज वा अन्य केही प्राविधिक समस्या हुनसक्छ । त्यता उनीहरुलाई ध्यान हुँदैन । थाहा हुँदैन । बास चल्नु पर्यो, वत्ती बल्नु पर्यो ।’
इलेक्ट्रिक इन्जिनियर विश्वास भारत सिलीगुडी निवासी हुन् । उनी हाल कनकाई प्याउड उद्योगमा काम गरिरहेका छन् । उनी ९ वर्षदेखि झापाका विभिन्न उद्योगमा रहेर काम गरिसकेका अनुभवी मेकानिक हुन् ।
यस्तै कार्यक्रममा धाइजनस्थित रितिका डेरीका सञ्चालक योगेन्द्र चिमरियाले उद्योगमा खपत हुने डिजल, दाउरा, विद्युत लगायतका उर्जालाई बचत गर्न र चुहावट हुन नदिन सचेत हुनुपर्ने बताए । उनका अनुसार त्यसका लागि उर्जा, वातावरण सम्बन्धी लेखा परीक्षणसमेत गर्नुपर्छ ।
राष्ट्रिय उर्जा दक्षता केन्द्रले युरोपका ठूला देशसँग सहकार्य गरेर नेपालका ठूला–ठूला कम्पनीहरुको इनर्जी अडिट गरिरहेको छ । केन्द्रले झापाको रितिका डेरीको पनि इनर्जी अडिट गरिरहेको सञ्चालक चिमरियाले जानकारी दिए ।
इनर्जी अडिटका लागि एनएमसी डेरीका कर्मचारी र सञ्चालकहरुले केन्द्रका इन्जिनियरहरुसँग छलफल भइरहेको बताइएको छ ।
उद्योग, धन्दामा आवश्यकता भन्दा बढी खपत हुने उर्जालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले मेची उद्योग वाणिज्य संघको पहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले स्वास्थ्य जाँचका लागि मानिसको शरीर होलबढी जाँच गरेजस्तै उद्योगको उर्जा चुहावट नहोस् भनेर इनर्जी अडिट गर्ने गरिएको बताए ।
कार्यक्रममा राष्ट्रिय उर्जा दक्षता केन्द्रका प्रमुख अमृत ढकाल, इन्जिनियर आयुष अधिकारीले उद्योगमा विभिन्न कारणले चुहावट भइरहेको उर्जालाई न्यूनीकरण तथा विद्युत बचत गर्न सकिने उपायका बारेमा प्रस्तुति गरेका थिए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न एक दिने कार्यशाला गोष्ठीमा प्रसाईले उर्जा खपत र बचतका बारेमा उद्योग सञ्चालकलाई थाहा नहुने बताए । उनले उर्जा चुहावट रोक्न के गर्न सकिन्छ त्यसका बारेमा उद्योगमा अपरेटर वा प्राविधिकलाई यस विषयमा ज्ञान दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना लगायत झापाका उद्योगी व्यवसायी, कर्मचारी र प्राविधिकहरुको उपस्थिति थियो ।
मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।